पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने : वरिष्ठ नेता पौडेल

बैतडी, १२ जेठ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने बताउनुभएको छ । काङ्ग्रेसको राष्ट्रिय जनजागरण अभियानका लागि यहाँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले आज पाटनमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एक भएको सन्देश जागरण अभियानले दिइसकेको र जागरण अभियानपछि पार्टीमा कुनै गुटबन्दी नदेखिने बताउनुभयो । काङ्ग्रेस बिपी कोइरालाको सिद्धान्तअनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । नेता पौडेलले बिपीको सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिपीको नाम जपेर मात्रै हुँदैन, सबै जागरुक हुनु जरुरी छ ।” जागरण अभियानले काङ्ग्रेसलाई बलियो बनाउने नेता पौडेलले उल्लेख गर्नुभयो । अभियानले कार्यकर्ता अनुशासित र मर्यादित हुने पौडेलले विश्वास व्यक्त गर्नुभयो । सञ्चारमाध्यमले सरकारका गतिविधि बाहिर ल्याइराखेकाले सरकार मिडिया काउन्सिल विधेयक पास गर्न लागि परेको नेता पौडेलको आरोप थियो । उहाँले भन्नुभयो, “काङ्ग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न दिँदैन ।”(रासस)