धनगढी विमानस्थलको मर्मत सम्भार तथा स्तरोन्तिको काम समयमै सम्पन्न गर्न निर्देशन

कैलाली, १२ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी विमानस्थलको मर्मत सम्भार तथा स्तरोन्तिको काम समयमै सम्पन्न गर्न सरोकारवालाई निर्देशन दिनुभएको छ । आज विमानस्थल पुगेर उहाँले विमानस्थलका अधिकारी तथा निर्माण कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले काममा ढिलाइ हुनुको कारण माग्दै भन्नुभयो, “अफ्ठ्यारो कहाँ छ भन्नुस्, समन्वयकारी भूमिका खेल्न प्रदेश सरकार तयार छ, तर कामलाई नम्ब्याइ दिनुस् ।” थप जनशक्ति वा प्रविधि परिचालन गरेर भए पनि तीव्र गतिमा काम गर्न मुख्यमन्त्री भट्टले आग्रह गर्नुभयो ।

मुख्यमन्त्रीसँगै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वतावरणमन्त्री माया भट्ट पनि सहभागी हुनुहुन्थ्यो । जीर्ण भएको धावन मार्ग खन्ने काम सकिएको भए पनि तोकिएको भन्दा बढी काम गर्नुपर्ने भएकाले निर्माणमा थप समय लाग्न गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर योगेन्द्रराज शर्माले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको एक मात्र चालू अवस्थाको विमानस्थल मर्मत सम्भारको काम थालिएपछि गत वैशाख २२ गतेदेखि विमानस्थलमा हुँदै आएका सबै उडान पूर्ण रुपमा बन्द गरिएका छन् ।(रासस)