नेपालको संविधान विश्वकै उत्कृष्ट र महिलामैत्री : नागरिकमन्त्री

गाईघाट, १२ जेठ : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालको संविधान विश्वकै उत्कृष्ट र महिलामैत्री भएको धारणा राख्नुभएको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ राजाबासमा उदयपुर प्रथम ऐतिहासिक महिला भेलालाई आज सम्बोधन गर्दै उहाँले अहिले नेपालमा महिलाहरुले हकअधिकार अझै प्राप्त नभएको भन्नुभन्दा पनि संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधान विश्वका देशहरु मध्येकै एक उत्कृष्ट महिलामैत्री संविधान हो ।”

संविधानमा भएका सबै अधिकारलाई अक्षरस पालना र कार्यान्वयन गरे नेपालमा पुरुष सरह महिलालाई समान हक र अधिकार प्राप्त हुने उहाँको भनाइ थियो । उहाँले विश्वका कुनै पनि देश वा राज्यका प्रमुख अङ्ग र तहमा महिलाको तीनै तहमा ३३ र ४० प्रतिशत सहभागिता भएको उदाहरण कतै पनि नभएको बताउनुभयो । मन्त्री थापाले महिलाको स्वरोजगार र सीप अभिवृद्धिका लागि सरकारले आगामीे बजेटमा उल्लेख्य रुपमा रकम छुट्याउने जानकारी गराउनुभयो । सोमबारसम्म सञ्चालन हुने उक्त भेलाले उदयपुरका महिलाका समस्याका विषय र महिलाको राजनीतिक, आर्थिक, सामाजिक पहँुचको विकासका पक्षमा स्थानीय तह वा राज्यले खेल्नपर्ने दायित्वका विषयमा घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ । (रासस)