पत्रकारलाई भौगोलिक विकटताका कारण समाचार सङ्कलनमा चुनौती रहेकोले न्यूनतम पारिश्रमिक तोक्नु पर्ने

रसुवा, १३ जेठ : प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीले रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा छलफल गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीको उपस्थितिमा भएको सञ्चार क्षेत्रको समस्या र समाधान विषयक छलफल कार्यक्रममा यहाँ कार्यरत पत्रकारले भौगोलिक विकटताका कारण समाचार सङ्कलनमा अझै चुनौती रहेको भन्दै निर्धारित पारिश्रमिक उपलब्ध गराई दिन माग राखेका थिए ।

छलफल कार्यक्रममा सहभागी गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावासिदार वाइबालगायत राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षकले रसुवामा क्रियाशील सबै पत्रकार लगनशील भई काम गरिरहेको प्रतिक्रिया दिनुभएको थियो । गत भदौ ३० गते नेपाल राजपत्रमा निर्धारित पारिश्रमिक उपलब्ध गराउने व्यवस्थाका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीसमक्ष रसुवाका पत्रकारले माग राखेका थिए ।

विकास र समृद्ध नेपाल बनाउने कार्यमा सहज पार्न पत्रकार जगत्ले निरन्तर कलम चलाउन आग्रह गर्दै नेपाल पत्रकार महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सबै पत्रकारको हितमा महासङ्घ निरन्तर रूपमा अगाडि बढ्ने बताउनुभयो । स्थानीयस्तरमा सञ्चालित रेडियो एफएमलगायत पत्रपत्रिकालाई सबल र सक्षम पार्न सबै खालको विज्ञापन स्थानीयस्तरमै दिनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाले आयोजना गरेको छलफल कार्यक्रममार्फत् केन्द्रीय नेतृत्वसमक्ष आफ्ना दुःखसुुख पोख्न पाउँदा यहाँका पत्रकार अत्यन्तै उत्साहित भएको उक्त शाखाका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो ।(रासस)